Aug 1, 2009

~~यसरी ठगिन्छन् साधारण लगानीकर्ता~~

लगानीकर्ताले पत्याउनै नसकिने किसिमले भएका यस्ता ठगीका पछाडि ठूला विज्ञहरू संलग्न भएका हुन्छन् । विज्ञहरूको शब्दजाल र कपोलकल्पित वित्तीय सूचकहरूले झकिझकाउ पारिएका वित्तीय योजनाको जालमा सर्वसाधारण लगानीकर्ता सहजै फस्छन् ।

पैसा कमाउनका लागि मानिसले अनेक उपाय गर्छ । कसैले कडा परिश्रम गर्छन् भने कोही जागिर खाएर आनन्दको जीवन जिउँछन् । यसैगरी अर्काथरी पनि छन्, जसले हरदम छलकपटमार्फत रुपैयाँ आर्जन गर्छन् । पैसा आर्जन गर्न मानिसले विभिन्न ठगी, जालसाजीका उपाय सोचेका हुन्छन्, जसमा सोझासाझा मानिस सहजै फस्न पुग्छन् । पैसा फिर्ता नआउने पक्का भएपछि मात्रै उनीहरूलाई आफू फसेको थाहा हुन्छ ।

वित्तीय क्षेत्रको लगानी विश्वासमा मात्रै अडेको हुन्छ । सामान्य लगानीकर्ता कम्पनीहरूले प्रस्तुत गरेको वित्तीय विवरणका आधारमा कम्पनीको सबलताको अनुमानमा लगानी गर्छन् । आफूले लगानी गरेको कम्पनीको व्यवस्थापनप्रति लगानीकर्ताको विश्वास हुन्छ । तर, व्यवस्थापनले नै झूटा विवरण सार्वजनिक गरी लगानीकर्ता फसाउँछन् । यस्तो जालमा आफूलाई टाठाबाठा भन्ने लगानीकर्ता नै बढी फसेको पाइन्छ ।

छोटो समयका लगानीबाट उच्च प्रतिफल आर्जन हुने पेसाका रुपमा लिइने सेयरप्रति सर्वसाधारणको चासो अहिले निकै बढेको छ । अधिकांश नेपाली लगानीकर्ता साथीभाइको सल्लाहमा लगानी गर्छन् भने थोरैमात्र कम्पनीको वास्तविकता विश्लेषण गर्दै लगानी गर्छन् । अमेरिकाजस्तो विकसीत बजारका लगानीकर्ता त ठगिन्छन् भने नेपालजस्तो अविकसित सेयर बजारका लगानीकर्ता नठगिने कुरै भएन ।

विश्वका सेयर बजारमा धेरै ठूला-ठूला ठगी भएका छन्- त्यो पनि संस्थागत । सामान्य मानिसको दिमागले यस्ता योजना तयार गर्न सक्ने कुरै भएन । लगानीकर्ताले पत्याउनै नसकिने किसिमले भएका यस्ता ठगीका पछाडि ठूला विज्ञहरू संलग्न भएका हुन्छन् । विज्ञहरूको शब्दजाल र कपोल्कल्पित वित्तीय सूचकहरूले झकिझकाउ पारिएका वित्तीय योजनाको जालमा सर्वसाधारण लगानीकर्ता सहजै फसेको पाइएको छ । विश्वप्रसिद्ध यी ठगीले हामीलाई केही दृष्टान्त दिन सक्छन् त्यस्ता ठगीबाट बच्न । आफ्ना लगानीकर्ताको विश्वास बेचेर धनी भएका कम्पनीको छोटो वृत्तान्तले सार्वसाधारण लगानीकर्तालाई सचेत हुन सहयोग पुग्नेछ ।

जेडजेडजेडजेड बेस्ट इन्कर्पारेसन, १९८६

सेयर बजारमा ठगी धन्दा हुँदै आए पनि यो घोटालापछि ठूला ठगी काण्ड सुरु भएको विश्वास गरिन्छ । पुराना कार्पेट सफा गर्ने कम्पनीको रुपमा न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत वेष्ट कम्पनीका मालिक क्यारी मिन्कोले आफ्नो कार्पेट सफा गर्ने कम्पनी सबैभन्दा ठूलो कम्पनीका रुपमा स्थापित हुने दाबी गर्दै विभिन्न आधार प्रस्तुत गर्न थाले । उनले करोडौं डलरको कम्पनी स्थापना गर्न थालेको नाटक गर्न थाले । यसका लागि उनले कम्पनी स्थापनाको १० हजारभन्दा बढी झूटा कागज र नक्कली बिक्री रसिद तयार पारे । आफ्नो अवैधानिक काममाथि अरुले शंका गर्न नसकुन् भनी उनले यी सबै कागजात तयार गरेका थिए । उनले अमेरिकाको सानडियागोमा एउटा भव्य घर भाडामा लिई सजावटका लागि ४० लाख डलर खर्च गरी प्रस्तावित कम्पनीको कार्यालयसमेत खडा गरे । त्यसको ६ महिनापछि १९८६ मा उनले सार्वजनिक सेयर निष्कासन गरे । वेष्ट इन्कर्पाेरेसनको सेयर बिक्रीबाट क्यारी २० करोडभन्दा बढी रकम संकलन गर्न सफल भएका थिए । आफू सार्वजनिक नभई सञ्चारमाध्यमको प्रयोगमार्फत कम्पनीको प्रचार गरेका क्यारी सार्वजनिक हुँदा सबै आश्चर्यचकित भए । उनी केवल १७ वर्षे ठिटा पो रहेछन् । एउटा ठिटाले गफैगफका भरमा २० करोड जम्मा पारेको थाहा पाएपछि सबै दंग परे । २५ वर्षको जेल सजाय पाएका क्यारीको सजाय सकिनै लागेको छ ।

सेन्टिन्नियल टेक्नोलोजिज, १९९६

डिसेम्बर १९९६ मा सेन्टिन्नियल टेक्नोलोजिज्का प्रमुख कार्यकारी अधिकृत इम्यानुयर पिनेजको व्यवस्थापन समूहले आफ्नो कम्पनीले पर्सनल कम्प्युटरको मेमोरी कार्ड बिक्रीबाट मात्रै २० लाख डलर आम्दानी गरेको वित्तीय विवरण सार्वजनिक गर्‍यो । मेमोरी कार्डलगायत उच्च प्रविधिका वस्तु बेच्ने बताएको सो कम्पनीले वास्तवमा काटुर्नमा राखेर ग्राहकलाई फलफूल बेच्ने गथ्र्यो । मेमोरी कार्ड बेच्ने कम्पनीले उच्च नाफा आर्जन गरेको तथ्य सार्वजनिक भएपछि यसको सेयर माग उच्च भयो । न्युयोर्क स्टक एक्सचेन्जमा सेन्टिन्नियलको सेयर मूल्य दैनिक रुपमा ४ सय ५१ प्रतिशत बढेर प्रतिसेयर साढे ५५ डलर पुगेपछि नियमन निकाय सेक्युरिटी एक्सचेन्ज कमिसन

(सइसी) ले छानबिन सुरु गरेको थियो । कम्पनीले उच्च बिक्री गरेको देखाउन कर्मचारीले झूटो विवरण सार्वजनिक गरेको रहस्य छानबिनबाट पत्ता लाग्यो । एसइसीका अनुसार, १९९४ को अपि्रलदेखि १९९६ को डिसेम्बरसम्मको दुईवर्षे अवधिमा कम्पनीको आम्दानी ४ करोड डलरले बढाएर देखाइएको थियो । वास्तविक नोक्सानी २ करोड ८० लाख डलर भएको अवस्थामा समेत सो कम्पनीले १ करोड २० लाख नाफा आर्जन गरेको तथ्य सार्वजनिक गरेको थियो । वास्तविकता थाहा भएको एकै दिन सो कम्पनीको प्रतिसेयर मूल्य झरेर ३ डलरभन्दा तल पुगेको थियो । कुनै समय वाल स्टि्रटको सुरक्षित एवं लाभदायक लगानी छनोट हुने गरेको सेन्टिन्नियलका २० हजारभन्दा बढी लगानीकर्तामा पुर्पुरोलाई धिक्कार्नुबाहेक अन्य विकल्प रहेन ।

बि्र-एक्स मिनरल्स, १९९७

अहिलेसम्म अमेरिकी कम्पनीहरूले मात्रै लगानीकर्तालाई ठग्दै आएकोमा यसपटक क्यानेडियन कम्पनीले ठग्ने विचार गर्‍यो । खनिज पदार्थ उत्खनन् तथा वितरण व्यवसाय गर्दै आएको बि्र-एक्सले इन्डोनियामा रहेको आफ्नो सुनखानी विश्वकै ठूलो भएको दाबी गर्दै विभिन्न तथ्यांक सार्वजनिक गर्न थाल्यो । कम्पनीको स्वामित्वमा रहेको खानीमा ५ सय ६७ मेटि्रक टन सुन भएको उसको दाबी थियो । यत्तिका धेरै सुन भएको तथ्य सार्वजनिक भएपछि सो कम्पनीको सेयर मूल्य रातारात उचाइँमा पुग्यो । एक बराबर दुई स्टक स्प्िलट -एउटा सेयरलाई धेरै अंशमा विभाजन गर्ने प्रक्रिया) गर्दा पनि यसको प्रतिसेयर मूल्य २ सय ८० अमेरिकी डलर पुगेको थियो । सो समयमा कम्पनीको बजार पुँजीकरण ४ अर्ब ४० करोड अमेरिकी डलर पुगेको थियो । बि्र-एक्समा लगानी गर्ने साधारण लगानीकर्ता रातारात धनी भए । तर, १९९७ को मार्च १९ मा बि्र-एक्स मिनरल्सले भनेजस्तो खानी नै नभएको तथ्य बाहिर आयो । सत्य तथ्य बाहिर आएकै दिन यसको सेयर मूल्य सेन्टमा झर्‍यो । यो काण्डमा सबैभन्दा धेरै गुमाउनेमा संस्थागत लगानीकर्ता नै परे । त्यसमध्ये क्युबेक निवृत्तिभरण कोषले ७ करोड डलर गुमायो भने ओन्टारियो शिक्षक निवृत्तिभरण योजनाले १० करोड डलर गुमायो । यसैगरी ओन्टारियो नगर अवकास निवृत्तिभरण परिषद्ले ४ करोड ५० लाख गुमायो ।

इन्रोन, २००१

२१औं शताब्दी लागेपछिको पहिलो ठगी गर्नुअघि इन्रोन वाषिर्क आयका आधारमा अमेरिकाको सातौं ठूलो कम्पनीका रुपमा रहेको थियो । बजारमा राम्रो साख भएको इन्रोनले सानो एवं सहजै पहिल्याउन नसकिने जटिल लेखांकीय उपायबाट करोडौं डलर घोटाला गर्‍यो । आफ्नो करोडौं डलर बराबरको ऋण लुकाउन यसले सहायक कम्पनीलाई पनि प्रयोग गरेको थियो । कम्पनीको वित्तीय विवरणबाट ऋण लुकाएको सो कम्पनीले मजबुत वित्तीय विवरण सार्वजनिक गर्दै आधारभूत विश्लेषणमा चतुर विश्लेषक तथा लागानीकर्तालाई कम्पनी वित्तीय रुपमा सबल भएकोमा विश्वस्त पार्न सकेको थियो । यसबाहेक इन्रोनले कर छल्ने उद्देश्यले खोलेको साना कम्पनीहरूले हुँदै नभएको आम्दानीसमेत देखाएका थिए । त्यसका लागि उनीहरूले एक डलर आयलाई कयौंपटक आयमा गणना गरेका थिए । उच्च आम्दानी र ऋण नभएको वित्तीय विवरणबाट दिग्भ्रमित लगानीकर्ताले इन्रोनको सेयर धमाधम किन्न थाले । रातारात बढेर यसको सेयर मूल्य प्रतिसेयर ९० डलर नाघ्यो । २००१ को नोभेम्बरमा जब कम्पनीको वास्तविक तथ्य बाहिर आयो, तब इन्रोनको सेयरमूल्य झरेर ७० सेन्टभन्दा पनि तल आइपुग्यो । इन्रोनले आफूसँगै लेखापरीक्षण कम्पनी एन्डसरनलाई समेत डुबायो । इन्रोनको ऋण लकाउन कयौं कागजातको अभिलेख नराखेर सहयोग पुर्‍याएका डेभिड डन्कान पनि सजायको भागिदार बने ।

वल्र्डकम, २००२

इन्रोनले तहल्का मच्चाएको केही समयपछि नै सेयर बजारमा अर्काे घोटाला सार्वजनिक भयो । दूरसञ्चार क्षेत्रमा उच्च नाम कमाएको वल्र्डकमले लगानीकर्ता

झु



क्याउन इन्रोनकै उपाय अपनाएको पत्ता लाग्यो । इन्रोनले आफ्नो ऋण लुकाएको थियो, वल्र्डकमले भने सञ्चालन खर्चलाई पनि लगानी श्रेणीमा राख्दै लगानीकर्ता ठग्यो । वल्र्डकमले कम्पनीको दैनिक कार्य सञ्चालनका लागि आवश्य खर्च जस्तै, डटपेन, पेन्सिल तथा कागजमा हुने खर्चलाई भविष्यको लगानीको रुपमा परिभाषित गर्दै लगानीका रुपमा कयौं वर्षसम्म पुँजीकरण गर्दै गयो । यस्ता खर्च सम्बन्धित आर्थिक वर्षको खर्चका रुपमा गणना गर्दै आम्दानीबाट घटाउनुको साटो पुँजीकरण गरिएपछि कम्पनी नोक्सानीमा गएको देखिएन भने पुँजीकोष पनि सबल देखियो । वल्र्डकमले २००२ सम्म आइपुग्दा ३ अर्ब ८० करोड डलर बराबरको सञ्चालन खर्च पुँजीकरण गरेको रहस्य पछि सार्वजनिक भएको थियो । नोक्सानी लुकाउन सफल वल्र्डकमले २००१ मा एक अर्ब ३० करोड डलर नाफा आर्जन गरेको तथ्यांक सार्वजनिक गर्‍यो । वास्तवमा उसको व्यवसाय भने घाटामा गइरहेको थियो । सबल पुँजी भएको वल्र्डकमको सेयर मूल्य उच्च दरमा बढ्दै ६० डलरभन्दा माथि पुगेको थियो । २००२ को सुरुमै कम्पनीको पोल खुल्यो । ६० डलरमाथि कारोबार भइरहको वल्र्डकमको सेयर मूल्य रातारात २० सेन्टमा झर्‍यो । वल्र्डकमको लेखांकीय जालसाजीको सिकार पुनः सामूहिक तथा संस्थागत लगानीकोष नै भए । वल्र्डकमको अवसानसँगै हजारौं कर्मचारी बेरोजगार भए भने सर्वसाधारण लगानीकर्ता लखपतिबाट रोडपति भए ।

टाइको इन्टरनेसनल, २००२

वल्र्डकमको ठगीबाट विचलित भएका लगानीकर्तालाई टाइकोका कार्यकारीहरूले सन् २००२ कम्पनीका लागि फलदायी हुनेमा विश्वस्त पार्न सफल भएका थिए । विभिन्न विद्युतीय सामग्री, अस्पताल उपकरण तथा सुरक्षाका वस्तु उत्पादन गर्ने टाइको वाल स्टि्रटको ब्लुचिप (सुरक्षित लगानी) कम्पनीका रुपमा परिचित थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डेन्निस कोज्लोवस्कीलाई बिजनेस विक अखबारले टप २५ प्रमुख कार्यकारीका रुपमा सूचीकृत गरेको थियो । यी टप २५ मा परेका व्यक्तिले आफ्ना प्रमुख वित्तअधिकृत मार्क स्वार्ज र प्रमुख कानुन अधिकृत मार्क वेलनिकलाई आफ्नो पक्षमा पारी मिलेर १७ करोड डलर रकम अपचलन गरेका थिए । उनले न्यूनदेखि निब्र्याजी रुपमा रकम निकासा गरी व्यक्तिगत रुपमा प्रयोग गरेका थिए । संस्थाको यति धेरै सम्पत्ति कार्यकारी बोनस तथा सुविधाका नाममा निकासा गरिएको थियो । संस्थाबाट अवैधानिक रुपमा निकासा भएको रकम कोज्लोबस्कीले मोजमस्तीमा उडाएका थिए । सोही पैसाबाट उनले केही घर खरिद गरे भने आफ्नी श्रीमतीको जन्मदिनमा २० लाख डलरको भोज आयोजना गरे । सामान्य समारोहमा पनि उच्च रकम खर्च गर्दै आरामपूर्ण जीवन जिउन थालेपछि उनको जीवनस्तरबारेे छानबिन भयो । छानबिनपछि यी सबै तथ्य बाहिर आए । उनीमाथि शंका हुन थालेदेखि नै झरेको टाइकोको सेयर मूल्य ६ सातामा ८० प्रतिशतले गिरेको थियो ।

हेल्थसाउथ, २००३

तपाइं ठूलो र्फममा काम गर्दै हुनुहुन्छ, तपाइंको हाकिमले लेखा राख्दा सकारात्मक प्रभाव पार्ने खालका कपोलकल्पित तथ्यांक राखी कम्पनीले उच्च मुनाफा आर्जन गरेको र भविष्य राम्रो भएको वित्तीय विवरण तयार पार्ने गरी लेखा राख्न थाले भनेर निर्देशन दिए के गर्नुहुन्छ ? यस्तो छलकपटपूर्ण तथ्यांक राख्न तपाईंको मनले नमान्ला । तपाइं नैतिकवान नै हुनुहुन्छ भने पनि रोजीरोटीका लागि उसको आदेश मान्नैपर्छ । १९९० दशक अन्त्यतिर न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत हेल्थसाउथ कम्पनीका कर्मचारीले यस्तै अनुभव गरेका थिए । कम्पनीको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रिचार्ड सरुसीले आफ्ना कर्मचारीलाई उच्च बोनस तथा सुविधा दिने प्रलोभनमा कपोलकल्पित वित्तीय विवरण तयार पार्न उक्साए । त्यसबखत हेल्थ साउथ अमेरिकाको ठूलो स्वास्थ्य सेवाप्रदायक कम्पनीमा गनिन्थ्यो । कपोलकल्पित तथ्यांक प्रस्तुत गरेपछि लगानीकर्ताहरू आकषिर्त हुन थाले । कम्पनीले सोही लगानीका भरमा साना स्वास्थ्य सेवाप्रदायक कम्पनी खरिद गर्न थाल्यो । तीव्र गतिमा विकास भइरहेको हेल्थसाउथको फट्याइँ २००२ को अन्त्य तिर मात्रै सतहमा आयो । कम्पनीले सोही वर्षको सुरुमा ७ करोड ५० लाख बराबरको सेयर खरिद गरेको थियो । पछि वाषिर्क विवरण सार्वजनिक गर्दा कम्पनीले उच्च नोक्सानी व्यहोरेको तथ्यांक सार्वजनिक गर्‍यो । राम्रो नाफा कमाएको कम्पनीले एकाएक नोक्सानी व्यहोर्दा लगानीकर्ता चकित भए । चकित परेका लगानीकर्ताहरूले एक स्वतन्त्र ल र्फमलाई सो घटना अध्ययन गर्न लगाए । अध्य्यनले सेयर बिक्री गरेकै कारणले कम्पनी घाटामा नगएको तथ्य पत्ता लगाएपछि एसइसीले छानबिन गर्दा कम्पनी पटक-पटक गरी आम्दानी एक अर्ब ४० करोडले बढाएको पाइयो । यो तथ्य सार्वजनिक भएको दिन सो कम्पनीको मूल्य २० डलर प्रतिसेयरबाट झरेर ४५ सेन्टमा आइपुगेको थियो ।

बर्नाड म्याडोफ, २००८

बर्नार्ड म्याडोफलाई अहिले वित्तीय इतिहासकै सबैभन्दा ठूलो ठगका रुपमा चिनिन्छ । धेरैको विचारमा अहिलेको वित्तीय संकट नआएको भए म्याडोफले सञ्चालन गरेको पन्जी स्किम कयौं वर्षसम्म बाहिर आउन सक्दैनथ्यो होला । आफूले सञ्चालन गरेको जोखिम न्यून गर्ने कम्पनी -हेज फण्ड) को नोक्सानी लुकाएर नयाँ लगानीकर्ताको पैसा पुराना लगानीर्तालाई बाँड्दै आएका म्याडोफको पोल उनकै छोराहरूले २००८ को डिसेम्बरमा खोलेका थिए । त्यसलगत्तै उनी डिसेम्बर ११ तारिखमा पक्राउ परे । सरकारले प्रतिबन्ध लगाएको पन्जी योजना सञ्चालन गरेका म्याडफको बर्नार्ड एल म्याडफ इन्भेष्टमेन्ट सेक्युरिटिजले १५ वर्षसम्म लगातार ११ प्रतिशतको नाफा आर्जन गरेको तथ्य प्रकाशित गर्दै आएको थियो । वित्तीय संकटको मारमा परेका लगानीकर्ताले आफ्नो लगानी फिर्ता माग्दा तिर्न नसकेपछि उनको पोल खुलेको हो । ६५ अर्ब डलरको जालसाजी अभियोगमा परेर १ सय ५० वर्षको जेल सजाय पाएका म्याडफको योजनामा प्रतिष्ठित व्यक्तिले समेत करोडौं रकम गुमाएका छन्