Nov 15, 2008

~~~~सडक~~~



.....................
विविधताले भरिपुर्ण भएपनि
अझै पुर्णता पाउने आशामा
कोलाहल युक्त भिड हुँदै, शुन्य,
जर्जर मरुभूमिसम्म एक्लै दौडिरहेछ
आफैमा हराइरहेछ
यो सडक
बेआकारका भारले थिचिएर,
पेलिएर रहेको भएपनि
अन्याय विरुद्ध आवाज उठाएर
आजसम्म बोलेको छैन्,
न त,
औसीको रातमा नै सुटुक्क हाँस्छ
न भतभति पोल्ने उज्यालोमा
न्याउरो मुख नै लगाएको छ
उराठलाग्दो गरि सुतेको सुतै छ
यो सडक
एउटै मञ्चमा देखिने नाटकका
अनेकौ दृश्यहरु झै
कोही,
गन्तब्यमा पुग्ने रहरमा, हुँइकिरहेछन्
चखेवा चखेवीको जोडी झै, मस्किरहेछन्
रक्ताम्म पार्दे अनि अकालमा अरुको ज्यान
लिदै भागिरहेछन्, लुकिरहेछन्
तै पनि,
आफनै तालमा निदाइरहेको छ
यो सडक
निद्रामा नै अतित देख्छ,
चुनाव जित्न प्रयोग भएको
मन्त्रिहरुकेा मागि खाने भाँडो भएको
ठुटे नेताहरुको बेसाइतको दँशै भएको
गाउँलेहरुको पसिना र श्रमले सिचिएको
बाटोको स्वरुप लिदै अनि ग्रावेल हुँदै
पक्किमा रुपान्तरण भएको
तर आजकाल,
आफ्नो लागि सर्वस्त्र त्याग्नेहरु
पिल्सिएको हेर्न वाध्य छ
कार र पैतालामा हिन्नेहरुलाई
समान सुविधा दिन नसक्दा
मुटु जर्जर अनि निष्ठुरी भएको छ
आफैले धोकेको नैतिकताको पाठ
आफैले सम्झेर
आँखा देख्ने तर अन्धो
कान सुन्ने तर कानो
मुटु भएको तर निर्जीव
बस्तुमा परिणत भएको छ
त्यसैले त, यो सडक
लमतन्न परेर तेर्सिएको छ
मात्र तेर्सिएको छ
............