Apr 21, 2007

!!! तीन कविता !!!

साँझ
आकाश थियो र जून थियो
बाँसुरी थियो र धून थियो
त्यही समय
तन्द्रायुक्त परिवेशमा
एउटा कलिलो रात
मलाई जिस्क्याएर गयो
एउटा हरिलो विश्वास
मलाई झुक्याएर गयो
आखिर म त मैनबत्ती
जल्दैजल्दै आगोहरूले
थोपाथोपा तप्किरहेँ।

रात
फूल थियो र पात थियो
रात थियो र साथ थियो
र त
विचार फुस्किएर मनबाट
निष्कर्षको दोसाँधमा
एउटा गहिरो अनुभूति
पलभरमै मलाई भोगेर गयो
एउटा सम्मानित आस्था
झरेर अलिकति शिखरबाट
छिपछिपे आँखा रोएर गयो
आखिर म त एक झुल्को घाम
छेकेर बादलका धर्साहरूले
कतै अनन्तमै अल्झिरहेँ।

बिहानी
मिर्मिरे थियो र शीत थियो
गीत थियो र प्रीत थियो
एउटा यथार्थ
सपनाजस्तो भएर
अतीतको पानामा हस्ताक्षर गरी
अलिकति अँध्यारो पोखेर गयो
तोडेर आस्थाको प्रतिबिम्ब
एउटा अनौठो क्षण मलाई भोगेर गयो
आखिर म त एक थुँगो फूल
हल्लाउँदा हावाका झोक्काहरूले
ओइलिएर बोटबाट
पत्रपत्र झरिरहेँ।
---------- लीला अनमोल